दफा १०
सेवाग्राहीलाई जानकारी दिनु पर्ने
: (१) प्रत्येक स्वास्थ्य संस्था तथा उपचार प्रदान गर्ने स्वास्थ्यकर्मीले सेवाग्राहीलाई देहायका विषयमा जानकारी दिनु पर्नेछ :-
(क) प्रत्येक सेवाग्राहीलार्इ आफ्नो स्वास्थ्य र उपचारको अवस्था सम्बन्धमा,
तर सेवाग्राहीको स्वास्थ्य स्थितिको सूचना दिँदा निजको वा समुदायको हित विपरीत हुन सक्ने पर्याप्त आधार भएमा स्वास्थ्य संस्थालाई त्यस्तो सूचना गोप्य राख्न कुनै बाधा पर्ने छैन।
(ख)   रोगको निदान, निदान भएको रोगको प्राकृतिक परिणाम र उपचारसँग सम्बन्धित सेवाको स्तर र विकल्प सम्बन्धमा,
(ग)   स्वास्थ्य उपचार सम्बन्धी विकल्पसँग सम्बन्धित अनुमानित खर्च र सम्भावित परिणाम सम्बन्धमा,
(घ)   सेवाग्राहीले स्वास्थ्य सेवा अस्वीकार गर्न सक्ने र सेवा अस्वीकार गर्दा उत्पन्न हुन सक्ने सम्भावित परिणाम, जोखिम र दायित्व सम्बन्धमा।
(२) स्वास्थ्य संस्थाले सेवाग्राहीलाई उपदफा (१) बमोजिमको जानकारी उपलब्ध गराउँदा सम्भव भएसम्म निजले बुझ्न सक्ने भाषामा उपलब्ध गराउनु पर्नेछ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवाग्राहीको स्वास्थ्य स्थितिको सूचना सम्बन्धित सेवाग्राहीलाई दिन नसकिने अवस्थामा निजको परिवारको उमेर पुगेको सदस्यलाई दिनु पर्नेछ।